काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेकामा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्र प्रसाद राव कुर्मी छन् ।
यस्तै, मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्याय, हकमा अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’मा वर्षभरिको राजस्व आम्दानी नै नबाँधेको तथा उक्त रसिदहरूबाट प्राप्त रकम बैंक दाखिलासमेत नगरी सरकारी राजस्व हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिष्ट्रेशन दस्तुरबापतको रकम २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दायर गरिएको मुद्दामा हरिनारायाण मिश्रसँग ३८ लाख ८० हजार ३६८ रुपैयाँ, भूपबहादुर बोगटीसँग एक करोड १० लाख ६० हजार ५२४ रुपैयाँ, पदमप्रसाद अर्यालसँग २१ लाख ३८ हजार १६९ रुपैयाँ, सुरेन्द्र प्रसाद राव कुर्मीसँग ९९ लाख १० हजार ५१५ रुपैयाँ र राजकिशोर प्रसाद उपाध्याय र उनका छोराहरूसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।