काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन् । जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् ।
न्यायालयमा विकृति, विसंगती, बिचौलिया र भ्रष्टाचार अन्त्य गर्न प्रधानन्यायाधीशको बहिर्गमन बटमलाइन बनाएर आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले विभिन्न चरणको आन्दोलनपछि सोमबार प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षसहित संसदमा प्रतिनिधि दलका नेता तथा प्रमुख सतेचकलाई ज्ञापनपत्र बुझाए ।
न्यायालयमा विकृतिको मुख्य जिम्मेवार जबरालाई देखाउँदै संवैधानिक प्रक्रियाबाट बहिर्गमन गराउन बारले संसदमा प्रतिनिधित्व गर्ने दल गुहारेको हो ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा आएका कानुन व्यवसायीलाई सभामुखसहित दलका नेताले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र पदीय मर्यादाभित्र रहेर पहल गर्ने आश्वास दिए ।
कानुन व्यवसायीसँग साना दलले प्रधानन्यायाधीश जबरालाई हटाउन सहयोग गर्नेदेखि महाभियोग लगाउन पहल थाल्नेसम्म आक्रामक आश्वासन दिए भने ठूला दलका नेताले पार्टीमा कुरा राख्ने भनेर कुरा चपाए । राष्ट्रिय जनमोर्चा, नेकपा मसालदेखि जसपा र लोसपासम्मका दलले जबराको बहिर्गमनको पक्षमा आफूलाई बारसँगै उभ्याए । नेकपा एमाले, माओवादी केन्द्रले भने ध्यानाकर्षणसम्म भएको उल्लेख गरे । एमालेले सर्वोच्च अदालतबाट न्याय पाउन छोडेको भन्दै यसमा सांकेतिक रुपमा संसद विघटनलाई जोड्यो ।
त्यसैगरी माओवादी केन्द्रले सत्ता गठबन्धनमा साझा धारणा बनाउने भन्दै छिटो निकास हुनुपर्ने धारणा सुनायो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक दायराभित्र रहेर पहल गर्ने आश्वासन दिए ।
न्यायालयको विवादमा गम्भीर ध्यानाकर्षण भएको छ । गहन र विस्तृत अध्ययन गर्नेछु । निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्नेछु । तीनवटै अंगको ओज(गरिमा कायम हुनुपर्छ । ओजस्वी हुन्छ । अहिले भइरहेको बहस नजिकबाट हेरेको छु । बहसबाट निकै राम्रो निष्कर्ष निस्किन्छ । सहज र स्वभाविक निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनुपर्छ । गम्भीर, असाधारण परिस्थिति छ । छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ ।
किन समस्या गहिरिँदै गएको छ भन्नेमा चिन्तन गरिरहेको छु । यहाँहरुले बहस र क्रियाकलाप अगाडि बढाउनुभएको छ । रामशाहपथ र बारमा जे जे छलफल घटना भइरहेका छन् त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो सत्य पहिल्याउने कुरा हो । मैले खेल्नुपर्ने भूमिकामा म लाग्नेछु । मैले लिने पहलकदमीमा केहीले छेक्ने छैन ।
FACEBOOK COMMENTS