काठमाडौं । एनआईएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
यो सम्झौतामा २०८१ चैत १२ मा एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले हस्ताक्षर गरेका हुन्। यो साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता वृद्धि गर्न र बजार विस्तारलाई तीव्रता दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड नेपालको टिएमटी रड, ब्लेड र रिब्ड तारको प्रमुख उत्पादक कम्पनी हो। नवलपरासीको सुनवलमा अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको यो कम्पनी उच्च गुणस्तरको स्टील उत्पादनमा प्रतिबद्ध छ। यो लगानी सम्झौताले नेपालको पूर्वाधार विकास र आर्थिक वृद्धिमा थप योगदान पुर्याउने कम्पनीको विश्वास छ।
एनआर्ईबीएल इक्विटी पार्टनर्सको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता सुधार गर्न, उत्पादन दक्षता बढाउन र बजार पहुँच विस्तार गर्न बलियो सहयोग प्रदान गर्नेछ। कम्पनीले नेपालको स्टील उद्योगमा आफ्नो प्रभाव अझ सशक्त बनाउने र देशको आर्थिक प्रगतिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने,‘लक्ष्मी स्टील्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ। एनआर्ईबीएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने र त्यस्ता व्यवसायलाई समर्थन गर्न प्रतिबद्ध छ। यो लगानीमार्फत हामी लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पूर्वाधार बलियो बनाउन सहयोग गर्नेछौँ।’
लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले भने, ‘एनआर्ईबीएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रा लागि सुनौलो अवसर हो। उहाँहरूको विशेषज्ञता र पूँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान पुर्याउन थप बल मिल्नेछ। हामी स्टील उद्योगको बलियो भविष्य निर्माण गर्न अघि बढिरहेका छौँ।’
एनआर्ईबीएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्सबीचको यो साझेदारी नेपालको औद्योगिक क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजनबाट यो सहकार्यले सरोकारवालाहरूलाई दीर्घकालीन लाभ प्रदान गर्न र देशको पूर्वाधार लक्ष्यलाई साकार पार्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।
FACEBOOK COMMENTS