काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको कार्यालयमा स्थापना गरेको छ ।
यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ वटा शाखा, १० वटा एक्स्टेन्सन काउण्टर, ५ वटा हस्पिटल सेवा काउन्टर, १७१ वटा एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ वटा शाखारहित बैंकिङ्ग एजेन्टहरू भएका छन् ।
साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास व्यक्त गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोवाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।