काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंक एक अर्काबीच गाभिने भएका छन् ।
आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनेछन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ ।
नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुने जनाइएको छ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS