काठमाडौँ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् ।
सदस्य सचिव घिसिङले आइतबार मेयर आचार्यलार्इ भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाए ।
यता, मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनोट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकारी गराएका छन् ।
यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तीव्र गतिमा अघि बढिरहेको समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरूलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रूपमा राखिएको छ ।
FACEBOOK COMMENTS