काठमाडौं । इजरायल–लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ ।
संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका छन् ।
युद्धको सबैभन्दा बढी असर बालबालिकामा परेको छ । दैनिक औसत १९ हजार बालबालिका घर छोडेर भाग्न बाध्य भइरहेको जनाइएको छ । निरन्तर बमबारीका कारण धेरै पुल भत्किएका छन्, जसले राहत सामग्री पुर्याउन कठिन भएको छ भने कतिपय बालबालिका अझै जोखिमयुक्त क्षेत्रमा फसेका छन् ।
विस्थापित बालबालिका अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरूलाई बारम्बार स्थान परिवर्तन गर्नुपर्दा मानसिक रूपमा गम्भीर असर परेको बताइएको छ । सहयोगी संस्थाहरूले ती बालबालिकाका लागि खोप, उपचार र अस्थायी पढाइको व्यवस्था गर्न प्रयास गरिरहेका छन्, किनकि धेरै विद्यालय बन्द भएका छन् ।
यससँगै, धेरै क्षेत्रमा खानेपानी, अस्पताल सेवा र सरसफाइ प्रणाली पनि प्रभावित भएको छ । यसले मानवीय संकट झन् गहिरिँदै गएको देखिएको छ ।

FACEBOOK COMMENTS