काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन्।
२०७२ सालको भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यदि मानिसको नियतले प्रकृतिको नियम बिगारियो भने त्यसको जोखिममा आफैँ पर्नु पर्ने बताएका हुन् ।
उनले वातावरणलाई स्वच्छ राख्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर विपद् न्यूनीकरण गर्नुपर्ने बताए।
गृहमन्त्री लेखकले भने,आजको दिन विगतका पीडा र दुःखहरू सम्झनुका साथै आगामी दिनमा यस्ता विपत्तिबाट सुरक्षित रहन सक्ने प्रतिबद्धता व्यक्त गर्ने दिन हो। सरकार भनेको प्रधानमन्त्री र मन्त्रीहरू मात्र नभई समग्र नागरिक समूह हो। हामी सबै कुनै न कुनै रूपमा राज्यसँग जोडिएका छौँ। त्यसैले सबैले मिलेर विपद् व्यवस्थापनमा भूमिका निर्वाह गर्नुपर्छ।
उनले थपे, ‘प्रकृति नियमले चल्छ, मानिस नियतले। यदि मानिसले आफ्नै नियतले प्रकृतिको नियम बिगार्यौँ भने त्यही नियतले आफैँलाई संकट निम्तिन्छ। त्यसैले वातावरण स्वच्छ राखौँ, प्रकृति नबिगारौँ, प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ।
गृहमन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण, प्रतिकार्य, पुनः स्थापना र पुनर्निर्माण विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए। उनले भने, ‘विगतका पीडाले हामीलाई आगामी दिनमा सजग र तयारी अवस्थामा बस्न सिकाउँछ। आज हामी सबैले विपद्को जोखिम न्यूनीकरण गर्ने, उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्ने र समग्र सरकारी संयन्त्र परिचालन गर्ने दृढ प्रतिबद्धता व्यक्त गरौँ।’
गृहमन्त्री लेखकले नेपाल एक अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै समयमा जे पनि हुनसक्ने सम्भावना भएकाले सचेत रहनुपर्ने धारणा राखे। उनले भूकम्पबाहेक अन्य प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पको सम्भावना पहिल्यै भन्न नसकिने उल्लेख गरे ।
FACEBOOK COMMENTS