काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केद्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीहरुबीचको एकता आवश्यक रहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै माओवादीहरुले आ–आफ्नो तर्फबाट भएका गल्ति कमजोरीलाई स्वीकार गर्दै बैद्य, विप्लव र अन्य नेताहरुको नेतृत्वमा रहेको नेकपा माओवादी एक जुट हुनुको विकल्प नभएको बताएका हुन्।
विप्लवबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका ओम प्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘वैज्ञानिक समाजवादको दिशातिर पुर्याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ ।’
‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’
सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने ।
FACEBOOK COMMENTS