काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए । प्रधानमन्त्रीले भने, “अहिलेको समयमा सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिनसक्नुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय जरुरी छ ।”
प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताए । उनले त्यसलाई गम्भीर रूपमा ध्यान दिन र सेवाप्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिए ।
“सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ भन्ने विषयमा सबैले गम्भीर भएर सोचौँ”, प्रधानमन्त्रीले भने, “स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ ।” यसका लागि दक्षजनशक्ति आफै उत्पादन गर्न सकिने उनको भनाइ थियो ।
बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीले चासो दिएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिए ।
मुख्यसचिव डा बैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तरक्रिया आवश्यक रहेको बताउँदै विद्यमान तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । राहदानीका लागि जनशक्ति कम हुँदा सेवा प्रभावित भइरहेको बताउँदै मुख्यसचिव अर्यालले संगठन तथा व्यवस्थापन सर्भे प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशित गरे ।
बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे ।
त्यस अवसरमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने बताउँदै नयाँ छपाइको प्रक्रियाका लागि टेन्डर प्रक्रियाको अध्ययन भइरहेको बताए । उनले विभागको कामकारवाहीमा पारदर्शिताको विषयलाई लिएर प्रश्न उठेकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रत्यक्ष सहभागितामा छानविन भइरहेको जानकारी दिए ।
राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दसैँयता राहदानी विभागमा सेवाग्राहीको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा सेवा प्रवाह भइरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयलगायत ९४ वटा सरकारी निकायबाट राहदानीसम्बन्धी काम भइरहेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका राहदानी शाखालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र वितरणमा प्रगति भएको बताउँदै एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए ।
FACEBOOK COMMENTS