काठमाडौं । बीमा रकमको भुक्तानीमा बीमा कम्पनीहरूले गर्ने व्यवहारको कारण विमा पोलिसी सरेण्डर गर्ने सङ्ख्या बढेको छ ।
सोही कारण पछिल्लो समय विमाको आकर्षण घटेको हो ।
चालु आवको वैशाखसम्ममा बीमालेख परित्याग गर्नेको सङ्ख्या ८७ हजार २१० रहेको छ । ८७ हजार बीमालेख सरेण्डर हुँदा १० अर्ब ७० करोड रूपैयाँ बीमा कम्पनीहरूबाट फिर्ता भएको छ । १० महिनासम्ममा यतिधेरै बीमालेख सरेण्डर हुनुको संकेत यो आवको अन्तिमसम्ममा विगतको तुलनामा झनै धेरै सरेण्डर हुने देखिएको छ ।
आम्दानीले धान्नै नसक्ने गरी बीमा कम्पनीहरूले बीमा गराएको कारण बीमा सरेण्डर गर्नुपर्ने अवस्था आएको आकलन गरिएको छ । बीमा जानकार भोजराज शर्माले बीमा अभिकर्ता (एजेण्ट)हरूले बीमा पोलिसीको मार्केटिङ गर्दा नै सही तरिकाले नगरेकाले समस्या सृजना भएको बताएका छन् ।
अर्थतन्त्रको सुस्तता र बीमाप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरू चुकेको कारण बीमालेख परित्याग गर्ने क्रम बढेको हो । अर्थतन्त्रमा आएको शिथिलताका कारण बीमा गर्ने आम नागरिकलाई आर्थिक सङ्कट पर्दै जाँदा सरेण्डर गरेरै भए पनि खर्च चलाउने सोच विकास भइरहेकाले बीमा सरेण्डर गर्ने क्रम बढेको बीमा क्षेत्रका विज्ञहरूले बताएका छन् ।
अर्थतन्त्रमा समस्या आउँदा दैनिक खर्च टार्न नै समस्या भइरहेको र बचत गर्ने अवस्था नभएकाले बीमा प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको हो । कतिपयलाई बीमा पोलिसीका फाइदा र सरेण्डर गर्दा हुने नोक्सानबारे कम्पनीहरूले राम्रोसँग जानकारी नदिँदा पनि धेरैले सरेण्डर रोज्ने गरेको पाइएको विज्ञहरूले बताएका छन् ।
कोरोना महामारीको समयमा गरिएको कोरोना बीमाको भुक्तानी नदिनु, बीमा कम्पनीहरूले बीमा गराउन निरन्तर चासो दिने गरे पनि बीमा पश्चात आफ्ना ग्राहकलाई वेवास्ता गर्ने गरेकाले बीमाप्रति वितृष्णा बढ्दो क्रममा रहेको छ ।
बीमा प्राधिकरणले बीमा सरेण्डर कम्तिमा तीन वर्षपछि मात्रै गर्न सक्ने व्यवस्था गरेको छ । सुरुमा सरेण्डर गरेर पैसा राम्रो नआउने वा जति ढिलासम्म बीमा पोलिसी जारी राखियो त्यति राम्रो हुन्छ भन्ने बुझाउन नसक्दा पनि अहिले बीमा पोलिसी सरेण्डरको सङ्ख्या बढिरहेको हो । चालु आर्थिक वर्षमा विगतका वर्षहरूमा भन्दा बढी बीमालेख परित्याग हुने अवस्था तथ्याङ्कले देखाएको छ ।
नियामक निकाय र बीमा कम्पनी दुवैले समयमै ध्यान पुर्याउन नसक्दा बीमा पोलिसी परित्याग गर्नेक्रम बढेको हो । बीमा प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर हुँदा कम्पनीहरूबाट ९ अर्ब ८८ करोड रूपैयाँ फिर्ता भएको थियो । त्यसको तुलनामा आव २०७८/७९ मा ८१ हजार ८६० वटा बीमालेख सरेण्डर हुँदा १२ अर्ब १८ करोड रूपैयाँ फिर्ता भएको देखिएको छ ।
प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा पनि बीमालेख सरेण्डर गर्ने क्रम बढ्यो । आव २०७९/८० मा ९६ हजार ९३८ वटा बीमालेख सरेण्डर भयो । जसबाट बीमा कम्पनीहरूको १३ अर्ब ३४ करोड रूपैयाँ फिर्ता भएको तथ्याङ्क प्राधिकरणको छ । पछिल्ला वर्षहरूमा कोरोना महामारीको समयमा गरिएको कोरोना बीमाको भुक्तानी नदिनु जस्ता कारणले पनि बीमाप्रति वितृष्णा जागेको कतिपयको बुझाइ छ ।
प्राधिकरणले कोरोना बीमा भुक्तानीका लागि पहल गर्दै आइरहेपनि सरकारले यसतर्फ चासो नदेखाएको प्राधिकरणको गुनासो छ । यसबाहेक बीमा कम्पनीहरूले बीमा गराउन निरन्तर चासो दिने गरे पनि बीमा पश्चात आफ्ना ग्राहकलाई वेवास्ता गर्ने गरेकाले पनि यसतर्फ नकारात्मक वातावरण बनेको जानकारहरूको भनाइ छ ।
FACEBOOK COMMENTS