काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गतवर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गतवर्ष कात्तिक ७ गते लक्ष्मी पूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्दहुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।
लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत्पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गतवर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्रनिर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गतवर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।
यस वर्षलक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गतवर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गतवर्षभन्दालक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।
जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएतापनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजीक्षेत्रकाविद्युतगृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।
FACEBOOK COMMENTS