खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान
कर्पोरट खबर
8:50 pm, शनिबार, साउन १७, २०८२
तनहुँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए ।
गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले बताए ।
यहाँ २५ हजारदेखि चालिस हजारसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्म ५०, ६० हजारदेखि ८० हजारसम्म २५ र ८० हजारदेखि एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।
“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ”, उनले भने, “छ÷छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।”
FACEBOOK COMMENTS