काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि वत्ति जडान गर्न सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा वत्ति जडानका लागि पोल झारेको छ । अब पोल गाडेर वत्ति जडान गरिनेछ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै वत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई वत्ति जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसैगरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको छ । स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।
FACEBOOK COMMENTS