काठमाडौं । कास्की र गोरखामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कास्कीमा दुई जनाको मृत्यु भएको छ । गोरखामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको हो ।
अन्नपूर्ण गाउँपालिका–११, पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबार नै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए ।
उनले भने, ‘जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।’
नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।
उता, गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।
आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
त्यस्तै, आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ वर्षीया विपना आले घाइते भएका छन् । घाइते दुवै जनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS