काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
पक्राउ परेका अधिकारीलाई आजै दिउँसो विमानमार्फत काठमाडौं ल्याउने तयारी रहेको बुझिएको छ ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी प्रदेश मन्त्रिपरिषद र संघीय सरकारको स्वीकृति नलिई जापान गएका थिए । उनीसँगै खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा पनि जापान गएका थिए ।
तर, त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका तीन जनालाई पनि विमानस्थलबाट फर्काइदिएपछि मानव तस्करीको खुलासा भएको थियो ।
मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि अधकिारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अधिकारीलाई एमाले कोशी प्रदेश कमिटीले उनीमाथि गम्भीर प्रश्न उठेको भन्दै त्यसको कानुनी निरूपण नभएसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ । उनीसँगै जापान गएकाहरूलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS