काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गर्नुका साथै प्रवक्ता सगुन सुन्दर लावतीलाई पदमुक्त गरेपछि विवादले थप उचाइ लिएको हो ।
यसअघि अनुशासन समितिको अध्यक्ष नवराज सुवेदी रहेका थिए, जो अहिले राजसंस्था पुनःस्थापना अभियानका संयोजकको भूमिकामा सक्रिय छन्।
यस निर्णयसँगै राप्रपाका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। राणाको नक्सालस्थित सचिवालयमा भएको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको दाबी गरिएको छ ।
विरोधमा उत्रिएकाहरूले अध्यक्ष लिङ्देनमाथि पार्टीको विधानविपरीत एकल निर्णय गर्दै आएको आरोप लगाएका छन्। मोर्चाबन्दीमा महामन्त्री राणा, पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता सगुन सुन्दर लावती लगायत नेताहरूको सक्रियता रहेको छ ।

विरोधमा उत्रिएका नेताहरूले अध्यक्ष लिङ्देनको एकलौटी निर्णयले पार्टीभित्र अन्तरविरोध चर्काउने खतरा बढेको भन्दै तत्काल संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।
