काठमाडौं । लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्सको अध्यक्षमा उद्धव बोगटी निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न क्लबको वार्षिक साधारण सभाले बोगटीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । साथै, उनको नेतृत्वमा नयाँ कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।
जस अनुसार क्लबको प्रथम उपाध्यक्षमा अञ्जली प्रधान, सचिवमा मीना बस्नेत र कोषाध्यक्षमा पुण्यवती गौतम चयन भएका छन् । क्लबकी अध्यक्ष नानीशोभा श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले आगामी वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

सभामा क्लबकी संस्थापक अध्यक्ष बिपुला श्रेष्ठले क्लब स्थापना भएको समयदेखि हालसम्म संस्थाले गरेका उत्कृष्ट कार्यहरूको स्मरण गर्दै संगठनलाई यस स्तरसम्म पुर्याउन सबैको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले विशेषगरी वर्तमान अध्यक्ष नानी शोभा श्रेष्ठको कार्यकालमा क्लबले उल्लेखनीय तथा उत्कृष्ट कार्यहरू सम्पन्न गरेको चर्चा गरिन् भने नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् ।

नवनिर्वाचित अध्यक्ष उद्धव बोगटीले आफ्नो कार्यकालमा आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी उत्कृष्ट सेवा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका वरिष्ठ सदस्य आदर्श प्रधान, दीपा मानन्धर तथा सदस्य मोहन गौतम लगायतको उपस्थिति थियो ।