काठमाडौँ । प्रिमियर लिगको पुछारमा रहेको वोल्भ्सवुसँग २–१ ले पराजित हुँदै लिभरपुलले फेरि अन्तिम समयमा गोल खाँदै हार बेहोरेको छ ।
मंगलबार राति मोलिन्यु स्टेडियममा भएको खेलमा वोल्भ्सका आन्द्रेले इन्जुरी समयको चौथो मिनेटमा गरेको निर्णायक गोलसँगै लिभरपुल स्तब्ध बनेको हो । उनको प्रहार डिफेन्डरमार्फत दिशा बदलिँदै गोलकिपर एलिसन बेकरलाई छक्याउँदै जाली चुमेको थियो ।
यसअघि वोल्भ्सका लागि पहिलो गोल रोड्रीगो गोमेजले गरेका थिए भने लिभरपुलका लागि मोहमद सलाहले बराबरी गोल गरेका थिए ।
यस सिजन लिभरपुलले ९० मिनेटपछि पाँचौँ पटक गोल खाँदै हार बेहोरेको छ, जुन एकै सिजनमा कुनै पनि टोलीका लागि सबैभन्दा बढी मानिएको छ । यसअघि पनि लिभरपुलले अन्तिम समयमा गोल खाँदै महत्वपूर्ण अंक गुमाएको थियो ।
यो हारपछि लिभरपुलको २९ खेलमा ४८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको भने ३० खेलमा १६ अंक भएको छ र लिगमा पुछारमा रहेको छ । यस सिजनमा वोल्भ्सको यो तेस्रो जित हो ।

FACEBOOK COMMENTS