काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई महानगरका कर्मचारीलाई सात दिनभित्र तलब उपलब्ध गराउन अल्मिेटम दिँदै अन्यथा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
स्थानीय तह कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र तलब नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
संघका अध्यक्ष नारायणप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा निर्धारित समयसीमाभित्र तलब नदिएर समस्या समाधान नगरे महानगर नै आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार हुने उल्लेख छ ।
संघले समस्याको समाधान गर्नुपर्ने सम्बन्धित पक्षले समन्वयात्मक पहल गर्नुको सट्टा सामाजिक सञ्जालमा उत्तेजक र अवाञ्छित भाषा प्रयोग गरी स्थितिलाई झन् जटिल बनाएको आरोप लगाएको छ ।
‘समस्या हल गर्नुपर्ने निकाय स्वयं सामाजिक सञ्जालमार्फत उत्तेजित शब्दावली प्रयोग गर्दै समस्यालाई लम्ब्याउने प्रवृत्तिमा देखिनु दुर्भाग्यपूर्ण छ । यसले समाधानको बाटो खोल्ने होइन, दम्भ प्रदर्शन गर्ने प्रयास मात्र देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरूले पछिल्लो तीन महिनादेखि तलब पाएका छैनन्, जसका कारण अन्य प्रशासनिक कामसमेत प्रभावित भएका छन् ।
FACEBOOK COMMENTS