काठमाडौँ । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स विश्वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ ।
यूकेस्थित डीजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी सो स्थानमा परेको हो ।
म्यागमा विश्वभरका सय उत्कृष्ट डीजे क्लब सहभागी थिए । डीजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ ।
एलओडी डीजे म्याग टप सयमा छनोट भएर ४४औं स्थानमा पर्न सफल हुँदा गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनका अनुसार यसपटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए ।
‘एलओडी क्लब डीजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनोट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।’
सयवटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ । विश्वको सय उत्कृष्ट क्लबमा पार्नका लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।
मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको भनाइ छ । टप १०० मा क्लब परेपछि स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण थप बढ्न सक्ने उनले बताए ।
कुँवरका अनुसार क्लबका लागि यो उपलब्धिसँगै चुनौती पनि हो । ४४औं स्थानमा परेसँगै क्लबलाई अझ आकर्षक बनाउँदै लगिने उनले बताए ।
FACEBOOK COMMENTS