काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’ पदकबाट विभूषित भएका छन् । गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्कीले गोल्छालाई उक्त पदक हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै कार्यबाहक राजदूत स्विताल्स्कीले नेपाल–पोल्यान्ड सम्बन्धका विविध क्षेत्रमा गोल्छाले पुर्याएको असाधारण योगदानको कदरस्वरुप सो पदक प्रदान गरिएको बताए । गोल्छाले कोभिड–१९ महामारीका बेला देखाएको समर्पण र साहसको पनि राजदूत स्विताल्स्कीले प्रशंसा गरे । गोल्छालाई पोल्यान्डको असल साथीको उपमा दिएका कार्यबाहक राजदूतले नेपालको समृद्धिमा गोल्छा र उनी मातहतका व्यवसायले दिएको योगदानको पनि चर्चा गरेका थिए ।
त्यस्तै, गोल्छाले उक्त पदकलाई आफूले व्यक्तिगत सम्मानको रुपमा मात्र नलिएर नेपाल र पोल्यान्डबीचको लामो मित्रता, सद्भाव र सहकार्यको अर्थपूर्ण प्रतीकको रुपमा लिएको बताए । यो सम्मानले आफूलाई दुई मुलुकबीचको बलियो सहकार्य र अझ गहिरो समझदारीको लागि योगदान गर्न प्रेरित गरेको उनले जनाए ।
आफू विश्वास, सहकार्य र आपसी सम्मानबाट मात्रै प्रगति हासिल हुन्छ भन्नेमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै गोल्छाले पोलिस मित्र र साझेदारहरुसँगको अन्तरक्रियाले आफ्नो विश्वासलाई अझै बलियो बनाएको उल्लेख गरे । भौगोलिक हिसाबले टाढा रहेका दुई मुलुकहरुबीच साझा मूल्य, इमानदारी र एकअर्काबाट सिक्ने वास्तविक इच्छाको धरातलमा कसरी सहकार्य सम्भव हुन्छ भन्ने कुरा आफूले प्रत्यक्ष देखेको पनि बताए ।

गोल्छाले पाएको पदक गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले प्रदान गर्ने पाँच श्रेणीको नागरिक सम्मानमध्ये चौथो दर्जाको हो । विशेष गरी विदेशी र देशबाहिर रहेर असाधारण योगदान गर्ने पोलिस नागरिकलाई प्रदान गरिने यो पदकको स्थापना सन् १९७४ मा भएको हो । अन्तर्राष्ट्रिय सहकार्य वा पोल्यान्ड र अन्य मुलुकबीच सुमधुर सम्बन्ध विकासमा असाधारण योगदान गर्ने व्यक्तिलाई यो पदक दिने चलन छ ।

FACEBOOK COMMENTS