सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङ नजिकै रहेको हाते कागज उद्योग लोक्ता अभावमा सङ्कटमा परेको छ । वनमा लोक्ता पाउन छोडेपछि वरुण कागज उद्योग सञ्चालनमा समस्या भएको हो ।
वनमा कच्चा पदार्थ पाउन छाडेपछि हाते कागज उद्योग सञ्चालनमा समस्या भएको सञ्चालक रुद्रबहादुर गुरुङले बताए । डिभिजन वन कार्यालयबाट कच्चा पदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने व्यवस्था भए पनि त्यस बराबरको लोक्ता वनमा पाउन छोडेपछि अप्ठ्यारोमा परेको उनले उल्लेख गरे । जिल्लामा हाते कागज प्रयोग नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको गुरुङले गुनासो गरे ।
जिल्लाको भोटखोला, मकालु गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो क्षेत्रमा केही वर्ष अगाडि प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय ती क्षेत्रमा पनि लोक्ता पाउन छोडेको उनको भनाइ छ । पछिल्लो समय यसको संरक्षणको अभावमा कम हुँदै गएका कारण कागज उत्पादनमा समस्या भएको हो ।
हरेक वर्ष वरुण कागज उद्योगमा तीन चार सय कोरी कागज उत्पादन हुने गरेको छ । जसमा एक कोरीमा दुई सय पाना हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक गुरुङले बताए ।
उनका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो । लोक्ता सङ्कलन गर्न प्रतिकेजी पाँच रुपैयाँ राजस्व लाग्छ । नेपाली हाते कागजले बजार नपाउँदा कागज उद्योग सञ्चालनमा समस्या भएको उद्योगी बताउँछन् ।
FACEBOOK COMMENTS