काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पौने २४ खर्ब पुगेको हो ।
असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको नेपालको सार्वजनिक ऋण बढेर फागुन मसान्तसम्म आइपुग्दा २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षको ८ महिनामा ९२ अर्ब ८३ करोड रुपैयाँले ऋण बढेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ ऋण रहेको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यो अवधिमा आन्तरिक ऋणको साँवा व्याज १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको सावा ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपालको सार्वजनिक ऋण हरेक वर्ष बढ्दो क्रममा छ ।
कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण करिब ८४ हजार रुपैयाँ बराबर पर्न जान्छ ।
नेपालको २३ खर्ब ८८ अर्ब रुपैयाँ सार्वजनिक ऋणलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जनालाई बराबरी भाग लगाउँदा प्रतिव्यक्ति करिब ८४ हजार रुपैयाँ पर्छ ।
FACEBOOK COMMENTS