काठमाडौं । सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिकमा समावेश गरिएको क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक समितिका अनुसार क्रिकेटका खेलहरू जुलाई १२ देखि सुरु हुनेछन् भने पदक खेलहरू जुलाई २० र २९ तारिखमा सम्पन्न हुनेछन् ।
क्रिकेट खेलहरू टी–२० फर्म्याटमा पोमोना शहरस्थित फेयर ग्राउन्ड्स स्टेडियममा आयोजना हुनेछन् । लस एन्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको यस क्षेत्रमा अस्थायी रंगशाला निर्माण गरिने बताइएको छ ।
प्रतियोगितामा प्रायः डबल हेडर रहनेछन्, जसअनुसार एक दिनमा दुईवटा खेलहरू सञ्चालन हुनेछन् । तर जुलाई १४ र २१ मा भने कुनै खेल नहुने आयोजकले जनाएको छ । ओलम्पिक क्रिकेटमा ६–६ वटा पुरुष र महिला टोलीले भाग लिनेछन् । यसमा जम्मा १८० खेलाडी सहभागी हुनेछन् । प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन् ।
हालसम्म ओलम्पिकका लागि सहभागी हुने देशहरू कसरी छनोट हुने भन्ने पूर्ण रूपमा प्रस्ट भएको छैन । तर आयोजक राष्ट्र अमेरिकाले भने स्वतः सहभागिता पाउनेछ । बाँकी पाँच टोली छनोट खेलमार्फत छनोट हुनेछन् ।
गत वर्ष अमेरिका टी–२० विश्वकप आयोजना गरेर सफल भएको थियो । उक्त प्रतियोगिताका खेलहरू न्यूयोर्क, फ्लोरिडा र डलासमा भएका थिए ।
१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट पुनः फर्किन लागेको हो । यसअघि सन् १९०० मा मात्र क्रिकेट ओलम्पिकमा समावेश गरिएको थियो । त्यो समय ग्रेट ब्रिटेन र फ्रान्सका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा ग्रेट ब्रिटेनले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको थियो भने फ्रान्सले रजत पदक हात पारेको थियो । त्यतिबेला जम्मा एउटै खेल खेलिएको थियो ।
FACEBOOK COMMENTS