काठमाडौँ । आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ ।
आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन् । लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार पछिल्लो समय लुक्लामा दैनिक चार–पाँच सय पर्यटक भित्रिने गरेका छन्। उनले भने, “आरोहणको मौसम सुरु भएदेखि लुक्ला र काठमाडौँका उडान भरिभराउ हुन थालेका छन्। विमानस्थलमा हेलिकोप्टरले समेत दैनिक दर्जनभन्दा बढी उडान गर्दै आएका छन्।”
रामेछापबाट तारा, समिट र सीता एयरले दैनिक सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलका लागि पर्यटक बोकिरहेकाले लुक्लासँगै मन्थली विमानस्थलको व्यस्ततासमेत बढेको छ। त्यस्तैगरी वसन्तयाममा पर्वतारोहण तथा पदयात्रा लक्षित काठमाडौँबाट हुँदै आएका उडान र हेलिकोप्टरबाट लुक्ला पुग्ने विदेशी पर्यटकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ।
उनले पर्यटकको चाप बढेसँगै लुक्लाबाट दैनिक उडान सङ्ख्यासमेत बढेको बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS