काठमाडौं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताएका हुन् ।
‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु’, उनले भने ।
उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए । त्यस्तै, टप स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको उनले बताए ।
साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो ।
FACEBOOK COMMENTS