काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ।
बैंकले गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा २४ करोड ११ लाख रुपियाँ रहेको खुद नाफा एक वर्षमै २५२.९६ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९९ करोड ७२ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशत बढी हो। त्यस्तै, बैंकको सञ्चालन नाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपियाँ पुगेको छ।
कर्जा असुलीमा सुधार आएपछि बैंकको खराब कर्जा व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (इम्पेरमेन्ट चार्ज) मा ठूलो कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा ७७ करोड ८७ लाख रुपियाँ रहेको इम्पेरमेन्ट चार्ज गत आर्थिक वर्षमा घटेर १३ करोड ५० लाख रुपियाँमा झरेको छ। इम्पेरमेन्ट चार्ज घट्नुले बैंकको खुद नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको हो।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत उल्लेख्य बढेको छ। अघिल्लो वर्ष ६ रुपियाँ ६५ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर २३ रुपियाँ ४८ पैसा पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकको लाभांश वितरण गर्ने क्षमता पनि बलियो बनेको छ। नियमनकारी समायोजनपछि गत आर्थिक वर्षको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपियाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा बैंकको कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपियाँ पुगेको छ।