काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय पर्यटकहरूलाई कुटपिट र लुटपाट गर्ने तीन जना नेपाली युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।
उनीहरूले काठमाडौंको ठमेलमा भेटिएका भारतीय पर्यटकहरूलाई गोंगबु पुर्याएर कुटपिट तथा लुटपाट गरेको प्रहरीले जनाएको छ । पर्यटकहरूलाई होटेल खोज्न सहयोग गरिदिन्छु भनी गोंगबु बसपार्कनजिकै रहेको ध्रुबतारा कम्प्लेक्सको छैठौँ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी तीनैजना युवा फरार रहँदै आएका थिए ।
उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS