काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सभाको आजको बैठकमा सांसदहरुले सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएरै सेवासुविधा दिने तयारी गरेको भन्दै विरोध गरेका हुन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले देशको आर्थिक अवस्थाले नथेग्ने र यसले जनतामा थप नैराश्यता बढाउनेतर्फ सचेत गराएका छन् ।
सांसद चित्रबहादुर केसीले पूर्वविशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने सरकारको तयारीको आलोचना गरे । पछिल्लो समय जनता र सरकारबीचको दूरीलाई यसले अझ चर्काउन सक्ने भन्दै गम्भीर हुन सरकारसँग आग्रह गरे । ‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, यतिबेला सरकारले पूर्वविशिष्टलाई कानूनी व्यवस्था गरेर सेवासुविधा दिने कुरा गर्ने ?,’ उनले भने, ‘सरकार र व्यवस्थाप्रति जनताको आक्रोश अझ बढ्ने छ । सरकार गम्भीर हुनुपर्छ ।’
प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको विरोध गरे । उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने धारणा व्यक्त गरे । ‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइडवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनता लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ,’ उनले भने ।
यस्तै, सांसद गोमा लाभ (सापकोटा)ले पनि पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा कटौती गर्न जोड दिइन् ।
FACEBOOK COMMENTS