काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।
मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ।
बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकताअनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ।