गण्डकी । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आज सम्पन्न बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।
महानगरका उपप्रमुख एवम् मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
बैठकको निर्णयअनुसार मल डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा रु २ रुपैयाँ थप लिन सक्ने निर्णय गरेको महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामीले जानकारी दिए ।
कृषि महाशाखा प्रमुख कडरियाका अनुुसार पोखरा महानगर कृषि शाखामा सूचिकृत तथा बिक्री वितरण गर्नका लागि छनौट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल विक्री वितरण भइरहेकोछ । मल विक्री वितरणका लागि आर्थिक वर्ष २०८०-८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको छ ।
बैठकले सूचिकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई मल उपलब्धसमेत गराउन अनुरोध गरेको छ । सहज र सपथ मूल्यमा मल बिक्री गरे÷नगरेको अनुगमन गर्ने पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुुरुङ बताए ।
महानगरमा सूचिकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको बताउँदै उनले किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध गराउनुुपर्ने बताए । अघिल्ला वर्षमा पनि महानगरले नियमित अनुगमन गरेको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको उल्लेख गर्दै अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।
अनुुमति नलिइकन बिक्री वितरण गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने र आफनो कार्यक्षेत्रभन्दा बाहिर बिक्री गर्ने, मूल्यसूची नराख्ने र विलविजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया एक हजार दुई सय २१ मेट्रिकटन, डीएपी छ सय ४५ मेट्रिकटन र पोटास ९८ दशमलब ९५ मेट्रिकटन गरी एक हजार नौ सय ६५ दशमलब २ मेट्रिकटन खपत भएको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS