काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएको छ । यससँगै विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ ।
नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।
बैंकका अनुसार, यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप सेन्ड’को मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् ।
यसरी प्रेषित गरिएको रकम माछापुच्छ्र्रे बैंकको आफ्नै विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ्र्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने बैंकको अपेक्षा छ ।
