काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निणर्य लिन हतार नगर्ने बताएका छन् । पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने/नजानेबारे निणर्य नलिएको बताए ।
उनले भने, “वर्तमान राजनीतिक दृश्य प्रष्ट त हुनुपर्यो नि ?’ अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निणर्य लिन्छौँ ।” यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निणर्य लिन हतार नगर्ने र पार्टीको आधिकारिक कमिटीले निणर्य गर्ने उनको भनाइ थियो ।
यसैगरी उहाँले आफ्नो पार्टी सरकारमा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराए । उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर समेत गरे । रासस
FACEBOOK COMMENTS