काठमाडौं । मारवाडी सेवा समिति नेपालले पशुपति अमालकोट कचहरीबाट नक्सापास सिफारिस भई काठमाडौं नगरपालिकाबाट नक्सापास भए बमोजिम निर्माण भएको बताएको छ ।
एक कार्यक्रमको आयोजना गरी समितिले सो बारेमा एक विज्ञप्ती जारी गरेको हाे । बि.सं. १९९७ सालमा नक्सापास गराउने कुनै प्रावधान नै नभएको बेलामा बनेको संरचनाको मात्र नक्सापास नभएको, सो को प्रमाण नापीनक्शाको ब्लु प्रिन्टमाभएको, नक्सापास नियमलागु भए पछिको नियम अनुसार पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभागको सिफारिसमा तत्कालिन काठमाडौं नगरपालिकाबाट नक्सापास भएको र नक्सापास बेगर कुनै पनि संरचना निर्माण नगरेको जानकारी गराएकाे छ ।
काठमाडौं महानगरले यतिखेर नक्सा पास विना बनाइएका अनाधिकृत संरचना लाई भत्काउँदै आएको छ ।
यस्ताे छ मारवाडी सेवा समिति नेपालकाे विज्ञप्ती
पशुपति क्षेत्र विकास कोषद्वारा मिति २०७९/७/४ मा गोरखापत्र दैनिकमा मापदण्ड विपरितको संरचना भत्काउने सम्बन्धी यस संस्थाको नाउमा प्रकाशित सूचनाका वास्तविकता सम्बन्धमा संस्थासँग सम्बन्धित व्यक्ति, चन्दादाता, शुभेच्छुक एवं अन्य अन्तर सम्बन्धित संस्थाबाट जिज्ञासा राख्नु भएको हुँदा सम्बन्धित सबैमा यथार्थ जानकारीका लागि प्रकाशित गरिएको छ ।
श्री पशुपति गौशाला धर्मशालाको आफैँमा एउटा इतिहास रहेको छ । धर्मशालाको नामले नै यो क्षेत्रको नाम गौशाला चोक रहेको छ, यस गौशाला धर्मशाला पुरातात्विक इतिहास बोकेको पवित्र गैरनाफामुलक सामाजिक संस्था हो । वि.सं. १९९० सालमा विनासकारी महाभूकम्पको घडीमा मारवाडी समाजले प्रभावित समुदायलाई राहत, उद्वार। पुनस्थापना एवं मृत्यु भएकाहरुको दाह–संस्कार लगायत विभिन्न सेवामूलक कार्य गरेको र त्यस समयमा काठमाडौंमा थारा गाई, साँढे इत्यादीको संरक्षण, हेरचाह गर्न, सेवा–कार्यहरु गर्न तथा श्री पशुपति नाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर ज.ब.रा.ले वि.सं. १९९७ सालमा (८२ वर्ष अगाडि) मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरुलाई बोलाई पशुपतिनाथ मन्दिर नजिकै हाल गौशाला धर्मशाला रहेको स्थानमा गौशाला एवं धर्मशाला बनाई संचालन गर्ने लगायतका विभिन्न सेवाकार्यहरु गर्न मारवाडी समाजलाई उपलब्ध गराईएको थियो । सोही समयदेखि नै मारवाडी समाजका महानुभावहरुले आफ्नो आयको केही अंश चन्दा स्वरुप प्रदान गरी पशुपति गौशाला धर्मशालाको निर्माण गर्दै गाई गोठ तथा आफ्ना पूर्वजहरुको स्मृतिमा कोठा, हल एवं मन्दिर निमार्ण गर्ने कार्य भएको हो ।
यस गौशाला धर्मशालाबाट श्री पशुपतिनाथको अभिषेकका लागि आदिकालदेखि अविछिन्न रुपमा दैनिक २९ लिटर दूध निःशुल्क उपलब्ध गराउदै आएको जानकारी गराउँदछौं । साथै गौशाला धर्मशाला भित्र हाल गौ सेवा, निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा प्रदान गरिनुका साथै वि.सं. २०५७ सालदेखि संचालन हुँदै आएको निःशुल्क कृत्रिम खुट्टा सेवा अन्तर्गत विभिन्न कारणबाट खुट्टा गुमाएका करीब ६ हजार जनालाइ कृत्रिम खुट्टा वितरण गरिएको छ । धर्मशालामा बस्न आउने यात्रुहरुलाई सहुलियत दरमा आवास र शुद्व शाकाहारी भोजनको व्यवस्था गरिएको छ ।
साथै निःशुल्क होमियोप्याथिक स्वास्थ्य परीक्षण एवं हरेक शनिबार करीब ५०० जना असहायहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ । मारवाडी समाजले पशुपति आर्यघाटमा वेवारिसे तथा असहायहरुको करीब ५००० शवको निःशुल्क दाह–संस्कार समेत गरिसकेको छ । विगत लामो समयदेखि समाजबाट पशुपति क्षेत्रमा पिउने पानीको व्यवस्था गरिएको छ । यस धर्मशालामा मारवाडी समुदायका सदस्यहरुको सहयोगमा करिब १२ करोडको लागतमा ३० बेडको सुविधा सम्पन्न निःशुल्क डायलाइसिस सेवा संचालनमा रहेको र दैनिक १२० जनाले उक्त सेवा प्राप्त गर्ने गरेका छन् ।
२०२१ सालको नापीको फिल्डबुक, मालपोतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, गुठी संस्थानको श्रेस्ता र पशुपति क्षेत्र विकास कोषको मोही लगत नम्बर ८३७ को अभिलेख बमोजिमको आ.ब. ०७९।०८० सम्मको मोहीले तीर्नु पर्ने वाली वापतको रकम बुझाइसकेका छौँ ।
साथै २०६०।१२।२ को पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता बमेजिमको सहयोग रकम समेत आ.व. ०७९/०८० सम्मको बुझाई सकिएको छ । श्री पशुपति गौशाला धर्मशालाको धेरै संरचना वि.सं. २०१९ साल अगावै निर्माण भएका हुन् । २०३५ सालमा र २०५७ सालमा पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबाट अनुमति प्राप्त भए बमोजिम बाँकी संरचना निर्माण भएका हुन् सो वाहेक अन्य कुनै थप संरचना निर्माण नभएको जानकारी गराउँदछौं ।
मिति २०६०।१२।२ मा मारवाडी सेवा समिति नेपाल र श्री पशुपति क्षेत्र विकास कोष बीच भएको सम्झौता सम्बन्धमा उठेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको निर्णय विषेश अदालत हुँदै सम्मानित सर्वोच्च अदालतबाट समेत उक्त सम्झौता कानुन सम्मत भएको भनी फैसला भएको छ ।
उल्लेखित सबै तथ्य अवगत हुँदा हुँदै पनि कोषले पटक पटक पत्र पठाउने गरेकोे, गौशाला धर्मशालाबाट उपलब्ध गराउदै आएको सम्झौता बमोजिमको सहयोग रकमलाई भाडामा रुपान्तरण गरी भाडा बढाउनु प¥यो भनी ताकेता समेत गर्ने गरेको छ । उल्लेखित सम्झौता बमोजिम पशुपति क्षेत्र विकास कोषलाई बुझाएको रकम कुनै भाडा नभई सहयोग रकम मात्र भएको व्यहोरा प्रष्ट गरिएको छ । साथै कोषको अधिनस्थ धेरै मोही रहेको सन्दर्भमा यस संस्था प्रति समान र सद्भावपूर्ण ब्यवहार नगरी वाली वापतको रकमको अतिरिक्त मिति २०६०।१२।२ मा भएको सम्झौता बमोजिम सहयोग रकम नियमित रुपमा बुझाउदा बुझाउदै पनि अनेक लाञ्छना लगाउदै हाम्रा विभिन्न सेवा मूलक कार्यमा हतोत्साहित गर्ने कार्य भएकोमा हामी गम्भीर भएका छौं ।
गौशाला धर्मशालाको संचालन समबन्धमा छानवीन र अध्यन गर्न पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन समितिको मिति २०७८÷१०÷१९ को निर्णय बमोजिम गठन भएको कार्यटोलीकोे पत्र संख्या ०७८/०७९ च.नं. १२०२ मिति २०७८/११/२२ को पत्रबाट यस गौशाला धर्मशालासँग माग भएको सम्पुर्ण कागजात एवं विवरण यस धर्मशालाले कोषलाई उपलब्ध गराई सकेको छ । उक्त कार्यदलले यस समितिसँग छलफल गरेको तथा सो कार्यदलले स्थलगत रुपमा अध्ययन भ्रमण समेत गरेको थियो । सोबाट हालसम्म कुनै कारवाही नभएकोमा उल्लेखित सूचना प्रकाशित भएको कार्यबाट एकै विषयमा विभिन्न कारवाही हुनुले अन्यौलता उत्पन्न भएको छ ।
पशुपति विकास कोष र हामी वीच भएको कुनै पनि विषयको समस्या विगतमा आपसी छलफल र पत्राचारबाट प्रष्ट गर्ने र समाधन हुँदै आएकोमा कुनै पूर्व सूचना एवं जानकारी वेगर मिति २०७९/७/४ मा एकाएक सार्वजनिक रुपमा प्रकाशित सूचनाबाट हाम्रो समुदायको मनोभावनामा ठेस पुग्न गएकोले मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशाला दुःख व्यक्त गर्दछ ।
FACEBOOK COMMENTS