गोरखा । गोरखा चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन” विषयक एक महत्वपूर्ण अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा हीरक जयन्ती समारोह समिति संयोजक राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले विश्वव्यापी प्रतिस्पर्धाको युगमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु केवल विकल्प नभई राष्ट्रिय आर्थिक समृद्धिको अनिवार्य मार्ग भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालका मौलिक, परम्परागत तथा गुणस्तरीय उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन स्पष्ट नीति, निर्यातमैत्री वातावरण तथा निजी क्षेत्रको सक्रिय पहल अपरिहार्य छ।”
उहाँले थप स्पष्ट पार्दै भन्नुभयो कि चेम्बरले अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि बहुआयामिक रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ, जसमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा निर्यात प्रक्रियामा सरलीकरण जस्ता पक्षहरू समावेश हुनुपर्छ। साथै, डिजिटल व्यापार, प्रभावकारी ब्रान्डिङ तथा उत्पादनको मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले “मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

श्रेष्ठले स्थानीय उद्यमी तथा साना व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले चीन, भारत तथा भियतनाम लगायतका मुलुकहरूसँग व्यापार सहकार्य विस्तार हुँदै गएको र यसले नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा सकारात्मक प्रभाव पारिरहेको धारणा राख्नुभयो।

कार्यक्रममा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठले स्थानीय उत्पादनको पहिचान, मौलिकता तथा गुणस्तर नै नेपालको मुख्य शक्ति भएको उल्लेख गर्दै त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न प्रभावकारी ब्रान्डिङ, आकर्षक प्याकेजिङ तथा सशक्त बजार रणनीति आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगलाई लक्षित गर्दै निर्यात प्रवद्र्धनका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्य समिति सदस्य एवम् गोरखा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठले चेम्बर अभियानको विस्तार स्थानीय तहसम्म सुदृढ रूपमा पुगेको उल्लेख गर्दै जिल्ला, नगर तथा गाउँस्तरमा गठन भएका चेम्बरहरूले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
कार्यक्रममा गोरखा महिला चेम्बर कि अध्यक्ष सबिता प्रधानले आफ्ना धारणा राख्दै महिला उद्यमशिलता विकासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
अन्तक्र्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, उद्योगी, निर्यातकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादन विविधीकरण, गुणस्तर प्रमाणीकरण, आपूर्ति श्रृंखला सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।