काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै दलहरुले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सोमबार हुने विश्वासको मतदानमा सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्न मिल्ने तर्क गर्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने जिकिर गरे।
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुकाबीचमा सहमति भइसकेको बताएका छन्।
उनले सत्तारुढ दलहरुकाबीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको बताए। उनले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको दाबी गरे।
उनले भने, ‘त्यस्तो मलाई लाग्दैन असन्तुष्टि होला भनेर। किनभने सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरुकाबीचमा सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि। मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन।’
FACEBOOK COMMENTS