सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ: अध्यक्ष नेपाल
कर्पोरट खबर
8:49 pm, शनिबार, मंसिर २२, २०८१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।
सोफा उत्पादक सङ्घको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनमा जोड दिँदै निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य खेम लोहनीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने विचार व्यक्त गरे ।
FACEBOOK COMMENTS