काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका हुन् ।
उनले जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरूप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको भन्दै सार्वभौमसत्ता सम्पूर्ण रूपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि यो अझै हाम्रो जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुन नसकिरहेको बताए ।
उनले भने ‘नेपालको संविधानले समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित छन्। त्यसको व्यवहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्याउने कुरामा केही कमजोरीहरू देखिएका छन्। यसलाई व्यवस्थाको असफलता भनेर परिभाषित गर्ने दुष्प्रयास हुँदैछ। जनताको आन्दोलनको जगमा स्थापित यो व्यवस्थाको सम्पूर्ण लाभ नेपाली जनताले नै पाउनुपर्दछ भन्ने विषयमा दुइमत हुन सक्दैन। उल्लेखित कुरालाई आत्मसात गर्दै राजनीतिक दल तथा सरकार सञ्चालन गर्नेहरूले गंभीर आत्मसमीक्षा सहित कमजोरीहरूलाई सुधार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनु पर्दछ।’
उनले हामीले हासिल गरेको यो मूल्य र मान्यता तथा उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई अघि बढाउन यहाँहरूको सक्रिय भूमिका एवम् रचनात्मक सहभागिता समेत आवश्यक रहेको बताउदै केवल आलोचना मात्र होइन, सुधारको साझा एजेन्डा निर्माण गर्दै अघि बढ्नु पर्ने बताएका छन् ।
FACEBOOK COMMENTS