काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै माधव कुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
पूर्वप्रधानमन्त्री नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत हुन् ।
प्रचलित भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । नेपाल अब सङ्घीय संसद् र यसअन्तर्गतका समितिहरूका कुनै पनि बैठकमा सहभागी हुन पाउने छैनन् । उनको तलबभत्ता पनि रोकिनेछ ।
यद्यपि, सांसद पद निलम्बनको सूचना सभामुखले संसद्मा सुनाउनुपर्ने व्यवस्था छ । तर, हालका सभामुख देवराज घिमिरेले टेरामक्स खरिद प्रकरणमा दोषी ठहरिएका सांसद मोहनबहादुर बस्नेतसम्बन्धी त्यस्तो सूचना हालसम्म पनि सुनाएका छैनन् ।
यसअघि नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता भइसकेपछि पनि सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिएनन् । सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्र पद निलम्बन हुने प्रतिनिधिसभाको नियमावलीमा टेकेर उनले रायमाझीको पद निलम्बन गरेका थिएनन् ।
रायमाझीलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेपछि मात्र सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको हकमा भने उनले मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन गर्ने निर्णय गरेका थिए । सभामुखले पुराना निर्णयमा द्वैध चरित्र देखाएका कारण नेता नेपालको हकमा के निर्णय गर्छन् भन्ने विषय चासोमा छ ।
FACEBOOK COMMENTS