काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने बताएका छन् ।
पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ, त्यस्तालाई साथ दिनेहरू, त्यस्तालाई प्रोत्साहन दिनेहरू, त्यस्ताको पुच्छर समातेर हिँड्नेहरू को–को छन्, पत्ता लगाउनुपर्छ । हाम्रो पार्टी क्रान्तिकारी हो, विद्रोहबाट आएको पार्टी हो ।’
उनले एकीकृत समाजवादी हिम्मत भएकाहरूको पार्टी भएको बताउँदै हिम्मत हाराहरूको पार्टीमा कुनै काम नभएको बताए । उनले भने, ‘यस्ता कायरहरूले बाटो छोड्नुपर्छ । काँतर मान्छेको कुनै काम छैन । हिम्मतहारा मान्छेको कुनै काम छैन । यो हिम्मत भएका मान्छेहरूको पार्टी हो ।’
नेपालले पार्टीको बारेमा नकारात्मक टिप्पणी हुन थालेको बताउँदै आत्मविश्वास नभएकाहरूले यो पार्टीको भविष्य छैन भन्ने गरेको बताए । उनले भने, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ । कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन् । सबै मान्छेमा उत्तिकै विश्वास हुँदैन र आत्मविश्वास पनि हुँदैन ।’
FACEBOOK COMMENTS