काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन नसकेको बताएका छन् ।
आज बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताएका हुन् ।
‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन् ? त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ कि छैनौँ । यो जम्मै पक्षहरुमा जसरी हामीले अझै ध्यान दिनुपर्ने हो, अझै पुगेको छैन कि जस्तो लागेको छ । हामी हचुवा पाराले काम गर्छौं,’ उनले भने, ‘देशभरका जति पनि ७४३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ–जहाँ आयो, त्यहाँ–त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ ।’
हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउँदै उनले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्ने कुरामा हुनुपर्नेमा जोड दिए । समस्याहरुको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताउँदै पूर्वप्रधनामन्त्री नेपालले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको जिकिर गरे ।
‘बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्ने कुरामा हो । अनुसन्धान गर्ने कुरामा । समस्याहरुको पहिचान गर्नेकुरामा खर्च गर्नुपर्छ । जति धेरै विज्ञहरुलाई, जति धेरै त्यस क्षेत्रका जानकारलाई परिचालित गर्न सक्यौँ, त्यति धेरै हामी सही निस्कर्षमा पुग्न सक्छौँ । यस क्षेत्रमा अझै पनि अपेक्षित मात्रामा हाम्रो ध्यान पुगेको छैन । हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन, गेम चेन्जिङ प्रोजेक्ट केके हुन् त ? प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुनकुन हुन्, त्यसको अध्ययन हामीले गर्नसक्यौँ की सकेनौँ । मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस् । त्यसमा अध्ययन हुनुपर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताएका छन् । कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताउँदै उनले सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताए । यस्तै, निर्यात प्रवर्द्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको पनि बताएका छन् ।
FACEBOOK COMMENTS