काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि योगपिठको जग्गा सट्टापट्टामा भएको अनियमितामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले आफू सुशासनको पक्षपाती भएकाले अनुसन्धान हुनु नै हुँदैन नभनेको बताए ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ,’ अध्यक्ष नेपालले भने, ‘तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानुनी उपचार हुन्छ । हाम्रा कानुनका जानकार साथीहरूले एक हजार पृष्ठको पुराना दस्तावेजहरू अनुसन्धान गर्दै हुनुहुन्छ ।’
उनले वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित रहेको आरोप लगाए ।
‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौँ, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्,’ उनले भने, ‘अर्को कुरा, कार्यकार्तालाई झोले बनाउने काम पनि नगर्नुहोस् । असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन । ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ । सरकारले गलत बाटो त्यागोस् । हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौँ । सरकारलाई हामीले खबरदारीसमेत गर्दै आइरहेका छौँ ।’
माओवादी नेताले केपी ओलीको बचाउ गर्दै भने– केपीलाई रिस उठेर माधवलाई मुद्दा लगाइएको होइन
FACEBOOK COMMENTS