काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने जानकारी दिएको छ ।
उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो ।
यस निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहनेछन् । छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गरी धूमधामका साथ मनाउने गर्छन् ।



FACEBOOK COMMENTS