काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका अधिवक्ता मधुकुमार चौलागाईंले सर्वोच्च अदालतमा न्यायिक सुधारको प्रक्रिया सुरू भएको बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयलाई उनले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा न्यायिक सुधारको प्रक्रिया सुरू भएको बताएका हुन् ।
आज शुक्रबार कपोरेट खबरसँग कुरा गर्दै चौलागाईंले वरिष्ठताको आधारभन्दा पनि योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘यसलाई न्यायालय शुद्धीकरणको रुपमा हेर्नुपर्छ । हामीले योग्य र सक्षम व्यक्तिलाई लैजानुपर्छ भन्ने कुरा गर्दै आएका छौं ।’
संवैधानिक परिषद्को बिहीबारको बैठकले कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्माको नाम सिफारिस गरेको थियो ।
चौलागाईंले संविधान वा कानुनले वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश बन्नुपर्ने अनिवार्य व्यवस्था नगरेको दाबी गरे । उनले संवैधानिक परिषद्को निर्णयमाथि अनावश्यक प्रश्न उठाउन नहुने धारणा व्यक्त गरेका छन् ।

चौलागाईंको थप धारणा अडिओमा सुन्नुहोस्–
