काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण र उपचार अभियान थालिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । उनका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले उक्त रोगको निःशुल्क परीक्षण र उपचार गर्न लागिएको हो ।
गाउँपालिकाले यसअघि नसर्ने रोगको अवस्था पत्ता लगाउन विभिन्न वडामा १८ दिने शिविर सञ्चालन गरेको थियो । उपाध्यक्ष थोकरले शिविरबाट गाउँपालिकाका ३१ प्रतिशत नागरिकमा मुख्यतः उच्च रक्तचाप र मधुमेहका रोगी फेला परेको बताए । “त्यसपछि दुवै रोगको निःशुल्क परीक्षण र उपचार प्रारम्भ गरेका हौँ”, उनले भने ।
यस्तै गाउँपालिकाले २८ स्थानमा क्लिनिक सञ्चालन गरेकोमा स्थानीयको मागका आधारमा अभियानसँगै अन्य दुई स्थानमा क्लिनिक थप गरिएको जनाएको छ । स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार गाउँपालिकामा प्रत्येक महिनामा गाउँघर क्लिनिक सञ्चालन हुँदा अब निःशुल्क रुपमा रक्तचाप र मधुमेह परीक्षण हुनेछ । बुधबार वडा नं ५ को गाउँघर क्लिनिकमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अभियानबाट स्थानीयको स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने अपेक्षा गरिएको बताइयो ।
यसैबीच नमोबुद्ध नगरले पनि उच्च रक्तचाप हुनेको पहिचान, परीक्षण, जोखिम न्युनीकरण नियन्त्रण गर्ने उद्धेश्य ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत अभियान थालेको छ । यसअघि नगरले १८ बर्ष माथिका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको समस्या देखिएपछि उच्च रक्तचाप, मधुमेह ९सुगर०, अल्कालीन, प्रोटीन परिक्षण निःशुल्क र एक बर्षसम्म निःशुल्क औषधीको व्यवस्था मिलाएको थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार उक्त परीक्षणमा ४ हजार ६ सय ६१ को परीक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियानअन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरणसमेत प्रदान गरिनेछ ।
उनका अनुसार काभ्रेपलाञ्चोकमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य दिइएको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपालमा नै पहिलोपटक तीनै तहका सरकारको सहभागितामा काभे्रपलाञ्चोकमा सुरु गरिएको सो कार्यक्रम जिल्लाका १३ वटै पालिकामा एकैसाथ कार्यान्वयन गरिएको छ ।
FACEBOOK COMMENTS