सडकमा मागेर खाने सयौँ नागरिकको उद्धार
कर्पोरट खबर
6:46 am, बुधबार, वैशाख ३०, २०८३
- काठमाडौँ उपत्यका प्रहरीले सडकमा माग्ने १०५ जनाको उद्धार गरेको छ, जसमा ४० जना होल्डिङ सेन्टरमा राखिएका छन्।
- ललितपुर प्रहरीले थप २६ जनालाई नियन्त्रणमा लिएको छ, जसमध्ये २२ जनाको स्क्यानिङ भइरहेको छ।
काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा मागि खाई हिँड्ने सयौँ जना नागरिकको उद्धार गरिएको जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत रहेका जिल्ला प्रहरी परिसरअन्तर्गतका प्रहरी इकाइहरूले सञ्चालन गरेको अभियानमा सडकमा मागि खाइ हिँड्ने सयौँ व्यक्तिहरूको उद्धार गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ६६ जना पुरुष, २२ जना महिला, नौ जना बालक र आठ बालिका गरी जम्मा १०५ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ४० जनालाई गौशालास्थित होल्डिङ सेन्टरमा राखिएको छ भने १६ जनालाई आफन्तको जिम्मा लगाएर पठाइएको तथा बाँकी ४९ जनाको स्क्यानिङ भइरहेको छ ।
त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरअन्तर्गत पुरुष १९ र महिला सात गरी २६ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये दुई जनालाई मानव सेवा आश्रम धापाखेलमा राखिएको, दुई जनालाई आफन्तको जिम्मा लगाइएको तथा २२ जनाको जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकमा माग्दै हिँड्ने व्यक्तिहरूको व्यवस्थापन, पुन:स्थापना तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी अभियानलाई निरन्तरता दिने जनाएको छ ।