काठमाडौं । आज आश्विन शुक्ल अष्टमीका दिन महाअष्टमी पर्व मनाईदै छ । यो दिन शक्तिपिठहरुमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइने गरिन्छ । दसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने प्रचलन रहेको छ ।
साथै दुर्गा सप्तशती, श्रीमद भागवत र देवी स्तोत्र पनि पाठ गरिन्छ । आजको दिन देवी मन्दिरमा विधिपूर्वक बलि दिने चलन रहेको छ । जसले गर्दा पशुले मोक्ष पाउने मान्यता रहेको छ । पशुको मुक्तिका लागि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ ।
आज उपत्यकाभित्रका शक्तिपीठ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, शोभा भगवती, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा बलिसहित पूजाआजा गर्ने प्रचलन रहेको छ ।
उपत्यका बाहिरका काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, गोरखाको मनकामना, दोलखाको कालीञ्चोक भगवती, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गर्ने प्रचलन रहेको छ ।
आजै हातहतियार, कलपूर्जा तथा सवारी साधनलाई देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने प्रचलन रहेको छ । आज काठमाडौंस्थित हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने प्रचलन रहेको छ ।
FACEBOOK COMMENTS