काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजीप्रति गम्भीर आपत्ति जनाउँदै कुनै पनि धर्मविरुद्ध कार्यक्रम निर्माण नगरेको स्पष्ट पारेका छन् ।
हालै केही व्यक्तिहरूले मह जोडीले अमेरिकी सहयोग नियोग (यूएसएड) बाट अनुदान लिएर हिन्दू धर्मविरोधी कार्यक्रम बनाएको दाबी गर्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । तर, श्रेष्ठ र आचार्यले आज संयुक्त रूपमा धारणा सार्वजनिक गर्दै ती दाबीहरू निराधार भएको बताएका छन् ।
हामीले यूएसएडको सहयोगमा केही सामाजिक सचेतनामूलक कार्यक्रम बनाएका हौं, तर ती कुनै पनि धर्मको समर्थन वा विरोधका लागि होइनन्, मह जोडीको भनाइ छ । उनीहरूले आफ्ना सिर्जनाहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य बोकेको स्पष्ट पार्दै आधारहीन प्रचारप्रति विश्वास नगर्न सबैलाई आग्रह गरेका छन् ।
यस्तो छ मह जोडीको प्रष्टीकरण
नमस्कार
हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झिन्छौँ । हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।
संसारमा राम्रा कुरा पनि छन् नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।
हामी अहले दुई फरक फरक चलचित्रको छायांकनमा छौँ । एउटा मदन दाइले खेल्नुभएको छ र एउटा मैले खेलेको छु । यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवनको मन्दिरहरूमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेका थियौँ ।
यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।
२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्यौँ भन्नु कपोलकल्पित हो । हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ । यस्ता कुराहरुले हतोत्साहित हुँदैनौँ । नेपाली जनतालाई यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ ।
FACEBOOK COMMENTS