काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् ।
आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
समग्र आर्थिक सन्तुलनका लागि आन्तरिक उत्पादन बढाउन पर्ने आवश्यकता भए पनि आयातमा निर्भर उपभोग तथा राजस्व प्रणाली, अर्थतन्त्रमा ठूलो योगदान रेमिटेन्सको रहनुजस्ता अवस्थाका कारणले बाह्य क्षेत्र प्रभावित भएको उनले बताए ।
उनले अहिले निजी क्षेत्रका सबै समस्या सम्बोधन गर्न सकिने अवस्था नरहेको बताए । “मौद्रिक नीतिका आफ्नै सीमा छन् तर ती सीमाभन्दा निजी क्षेत्रका आशा निकै बढी छन् । कतिपय मौद्रिक उपकरण छोटो समयका लागि कार्यान्वयनमा ल्याइएका छन् । अर्थतन्त्रको अवस्था सहज हुँदा मौद्रिक नीतिका कसिलो नीति खुकुलो हुँदै जान्छन्”, गभर्नर अधिकारीले भने ।
विगतमा बाह्य क्षेत्रमा देखिएको प्रभाव अनपेक्षित रहेको उनको भनाइ छ । अहिले तरलता अभाव समस्या विस्तारै कम हुँदै गएको गभर्नर अधिकारीले बताए । कुनै उद्योगी व्यवसायी बैंक वित्तीय संस्थाबाट पीडित भएको भए त्यसको जानकारी राष्ट्र बैंकलाई दिन पनि गभर्नर अधिकारीले आग्रह गरे ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पुँजीगत खर्च बढाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।
“पूँजीगत खर्च बढाउनका लागि लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाउने व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्छ । राज्यको दायित्व सामाजिक सुरक्षाका क्षेत्रसँगै पूर्वाधार निर्माणमा पनि रहन्छ । पूर्वाधार निर्माणका लागि पूर्वतयारीका काम सक्न जरुरी छ”, भट्टले भने ।
नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि लगानीको वातावरण सहज बनाउनुपर्ने र कार्यान्वयनयोग्य परियोजना छनोटमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS